देउवाविरुद्ध पौडेल, कोइराला, सिंह र सिटौलाको गठबन्धन

नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यसमितिको बहुमत जुटाएर बैठकमार्फत नौबुँदे निर्णय गरेपछि असन्तुष्ट समूह समानान्तर गतिविधिको कसरतमा जुटेको छ

पार्टी सभापति शेरबहादुर देउवाले २६ मंसिरमा बोलाएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रस्तावमा १४औं महाधिवेशनको कार्यतालिका नराखेको भन्दै असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएको थियो ।

असन्तुष्ट पक्षको उपस्थितिबिना ११ पुसको केन्द्रीय कार्यसमितिको बैठकमार्फत विधानका विभिन्न धारा संशोधन गरेपछि असन्तुष्ट नेताले त्यस्तो निर्णय नमान्ने घोषणा गर्दै निर्णय खारेजीको माग गरेका थिए ।

आफूहरूको उपस्थितिबिना भएका निर्णयलाई खारेज गर्न संस्थापन पक्ष राजी नभएमा विधानको रक्षा गर्दै अघि बढ्न सल्लाह र सुझाव लिने उद्देश्य विभिन्न तहमा छलफल, भेला र बैठक गर्ने निर्णय असन्तुष्ट पक्षले लिएको छ ।

‘पार्टी शीर्ष नेताहरूबीचको प्रारम्भिक छलफलमा जिल्ला सभापतिको भेला तत्काल काठमाडौंमा बोलाउने र त्यसपछि संघीय र प्रदेश सांसद, पूर्वसांसद भ्रातृ संस्थाका पदाधिकारी र सदस्य र महाधिवेशन प्रतिनिधिको भेला बोलाउने सहमति भएको छ’, संस्थापनसँग विममति राख्दै आएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले शिलापत्रसँग भने ।

स्रोतका अनुसार सभापति देउवाले बहुमतका आधारमा असन्तुष्ट पक्षका केन्द्रीय सदस्यको अनुपस्थितिमा विधानका विभिन्न धारालाई निलम्बन गरी क्रियाशील सदस्यता वितरण र नवीकरणमा एकाधिकार लाद्ने उद्देश्यले निर्णय गरेकाले त्यसका विरुद्ध असन्तुष्ट नेताहरू एकै ठाउँमा आउने भएका छन् ।

शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक हुँदा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. रामशरण महत काठमाडौंमै थिए भने कृष्णप्रसाद सिटौला र डा. शेखर कोइराला झापा र मोरङका विभिन्न कार्यक्रममा थिए ।

अब हुने जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि र भ्रातृ संस्थाका प्रतिनिधिहरूको भेलामा पौडेल, कोइराला, सिंह र सिटौला समूहको पनि सहभागिता हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी नेता पौडेलले आफूहरूको धारणाप्रति नेता सिटौलाको समेत समर्थन रहेको संकेत गरेका थिए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह आइतबार मात्र धनुषा र महोत्तरी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएको र सिटौला र डा. शेखर उपत्यकाबाहिर भएकाले उनीहरू काठमाडौं फर्किएपछि आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा कार्यकर्तासँग सुझाव लिन भेला बोलाउने तय भएको छ ।

जिल्ला सभापति, सांसद र भ्रातृ संस्थाको भेला काठमाडौंमा गरिए पनि प्रदेश सांसद र क्षेत्रीय सभापति तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापतिहरूको भेला भने सातवटै प्रदेशमा गर्ने सहमति भएको छ ।

सभापति देउवाले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमार्फत भएका निर्णय फिर्ता नलिए वा नसच्याएमा समानान्तर गतिविधि हुने निश्चित भएको घिमिरे बताउँछन् ।

असन्तुष्ट नेता कृष्णप्रसाद सिटौला पक्षधर दुई केन्द्रीय सदस्यले बैठक बहिष्कार गर्दै आएका छन् भने दुई सदस्य बैठकमा उपस्थित हुँदै आएका छन् ।

सिटौलाले सभापति देउवालाई बहुमतको आधारमा पेलेर निर्णय नगर्न आग्रह गरेका थिए भने पौडेल पक्षलाई बहिष्कार नगरी बैठकमा विरोध जनाउनुपर्ने धारणा राख्दै आएका थिए ।

असन्तुष्ट पक्षले महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने मागलाई संस्थापन पक्षले पूरा गरेको सन्देश दिन एक वर्षपछि महाधिवेशन हुने गरी कार्यतालिका ल्याएका थिए । तर, भ्रातृ संस्थाको कार्यकाल थप गर्ने र महाधिवेशन आयोजक समिति गठन र विभाग गठनमा सहमति हुन सकेको थिएन ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै