अमेरिकामा सन् २०१९ मा अहिलेसम्मकै बढी गोलीकाण्ड र हत्या

सन् २०१९ अमेरिकामा अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको छ ।

एसोसियटेड प्रेस, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले संकलन गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै ४१ वटा आम हत्याकाण्ड भएकाका छन् । जसमा २ सय ११ जना मारिएका छन् ।

हत्या गर्ने मानिस स्वयंको निधनबाहेक चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहार मानिएको छ।

सन् २०१९ मा भएका सबभन्दा घातक हत्याकाण्ड गत मेमा भर्जिनिया बीचमा भएको थियो । सो घटनामा १२ जनाको मृत्यु भएको थियो भने अगष्टमा एल पासोमा २२ जनाको ज्यान गएको थियो ।

सन् २०१९ मा भएका ४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । क्यालिफोर्नियामा सबभन्दा धेरै आठवटा आम हत्याका घटना भएका छन् ।

सन् १९७० देखि सन् २०१९ सम्ममा यो वर्ष सबैभन्दा बढी हत्याकाण्ड भएका छन् । सन् २००६ दोश्रो धेरै आम हत्या भएको वर्ष थियो। सो वर्ष ३८ वटा आमहत्याका घटना भएका थिए ।

सबभन्दा धेरै हत्याकाण्ड सन् २०१९ मा भएको भएपनि सन् २०१७ मा मृत्यु हुने मानिसको संख्या अहिलेसम्मकै धेरै छ। सन् २०१७ मा यस्ता घटनामा परी २ सय २४ जनाको मृत्यु भएको थियो ।

सो वर्ष लस भेगसमा एउटा समारोहमा भएको आम नरसंहारमा ५९ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै